सूर्यभन्दा तीन करोड गुणा ठुलो ‘ब्ल्याक होल’मा विस्फोट
एजेन्सी । सूर्यभन्दा करिब तीन करोड गुणा विशाल ब्ल्याक होलमा भएको एक शक्तिशाली विस्फोट पहिलोपटक पृथ्वीबाट अवलोकन गरिएको वैज्ञानिकहरूले बताए । बीबीसीका अनुसार, खगोलविद्हरूले अन्तरिक्षको अत्यन्तै टाढा क्षेत्रबाट अचानक तेजस्सेलो एक्स–रे ज्वाला निस्किएको र केही क्षणमै धमिलो हुँदै गएको दृश्य टिप्न सफल भएका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको अनुसार यो घटना गत जुलाई २ मा भएको हो। विस्फोटपछि ब्ल्याक होलबाट प्रतिसेकेन्ड ६० हजार किलोमिटरको अविश्वसनीय गतिमा पदार्थ बाहिर फालिएको देखियो—मानौँ अन्तरिक्षमै उच्च वेगको फोहोरा छुट्टिएको हो।
‘एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार यस्तो ज्वालाको कारण बनेका आँधी सूर्यमा देखिने तीब्र गतिविधिसँग मिल्दोजुल्दो छन् र यसले ब्रह्माण्डको गहिरो रहस्य बुझ्न नयाँ सुराग दिन सक्छ।
नासाका वैज्ञानिकहरू भन्छन्, ‘ब्ल्याक होल वास्तवमा सानो क्षेत्रमा अत्यधिक पदार्थ थिचिएर बनेको सघन वस्तु हो। नाममा ‘होल’ भए पनि यो कुनै प्वाल होइन। यसको गुरुत्वाकर्षण यति बलियो हुन्छ कि प्रकाशसम्म बाहिर निस्कन पाउँदैन।’
ब्ल्याक होलले छेउछाउका पदार्थ तानेर ‘खाँदै’ जाँदा ती पदार्थ अत्यधिक तापमा पुग्छन् र विभिन्न ‘वेभलेन्थ’का चहकिला किरण उत्सर्जन गर्छन्, जसमा एक्स–रे पनि पर्छ। यसै एक्स–रे उत्सर्जनले यो दुर्लभ विस्फोट वैज्ञानिकहरूको नजरमा परेको हो।