'पाकिस्तानले युद्धविराम सम्झौताको उल्लङ्घन गर्यो'
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएका छन्। शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको केही घण्टापछि गरिएको विशेष ब्रिफिङमा विक्रम मिश्रीले पाकिस्तानले सम्झौताको उल्लंघन गरेको बताएका हुन्।
उनले भने, 'भारत र पाकिस्तानका सैन्य अपरेशनका महानिर्देशकहरुबीच भएको समझदारीमा पछिल्ला केही घन्टादेखि लगातार उल्लङ्घन भइराखेको छ। यो केही समय पहिले भएको सहमतिको उल्लङ्घन हो।'
भारतीय सशस्त्र बलहरूले यी उल्लङ्घनहरूको पर्याप्त र उपयुक्त जवाफ दिइरहेका उनले बताए। त्यस्तै युद्धविराम उल्लङ्घनहरूलाई धेरै गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।
'हामी पाकिस्तानलाई यी उल्लङ्घनहरूलाई सम्बोधन गर्न उपयुक्त कदम चाल्न र गम्भीरता र जिम्मेवारीका साथ परिस्थितिलाई सम्बोधन गर्न आह्वान गर्दछौं ।', मिश्रीले भने, ' सशस्त्र बलहरूले स्थितिमाथि बलियो दृष्टिकोण बनाइ राखेका छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा र नियन्त्रण रेखामा सीमा उल्लङ्घन बारम्बार भए त्यस्तो बेला कडा रूपमा प्रस्तुत हुन निर्देशन दिइएको छ।'
भारत र पाकिस्तानबीच केही दिनदेखि बढेको तनावको अन्तय शनिबार यु्द्धविरामको घोषणापछि भएको हव। शनिबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भारत र पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविराममा सहमति भएको जानकारी दिएका थिए।
यसपछि भारतका विदेश सचिव विक्रम मिश्रीले पनि यसबारे जानकारी दिँदै दुवै पक्षले भारतीय समयअनुसार साँझ ५ बजेदेखि सबै प्रकारका गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको जनाएका थिए।