पाकिस्तानीका चार कम्पनीमाथि अमेरिकाले लगायो प्रतिबन्ध
अमेरिकाले ब्यालेस्टिक मिसाइल कार्यक्रममा सहभागी भएको भन्दै चार पाकिस्तानी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको वक्तव्यअनुसार पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसबाट हुने खतरालाई मध्यनजर गर्दै कार्यकारी आदेशका आधारमा चार पाकिस्तानी कम्पनीमाथि प्रतिबन्ध लगाइएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार पाकिस्तानको नेसनल डेभलवमेन्ट कम्प्लेक्स, अख्तर एण्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेसनल र रकसाइट इन्टरप्राइजेजमाथि प्रतिबन्ध लगाइएको हो। गत सेप्टेम्बरमा अमेरिकाले यही विषयमा पाकिस्तानका पाँच कम्पनी र एक व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तानले भने कथितरूपमा ब्यालेस्टिक मिसाइल उत्पादनसँग जोडिएका भन्दै प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जहरा बलुचले अमेरिकाले पक्षपातपूर्ण र राजनीतिका पूर्वाग्रहका रूपमा यस्तो कार्य गरेको आरोप लगाए।
अमेरिकाले सन् २०२३ को अक्टोबरमा मिसाइल निर्माण सामग्री आपूर्ति गरेको भन्दै तीनवटा चिनिया कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो।