२०८३ जेष्ठ १० गते , आईतबार
वैशाखयता १३ सयभन्दा बढी विपदजन्य घटनामा ७० जनाको मृत्यु
२०८३ को वैशाखयता आजसम्म देशभर एक हजार ३४२ वटा विपद्जन्य घटनामा भएका छन्। जसमा ७० जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०८३ को पछिल्लो ४० दिनमा भएका उक्त घटनामा ३३३ जना घाइते भएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्।
यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एक÷एक जनाको मृत्यु भएको छ।
ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन् । यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन्।