कुवेतमा ड्रोन आक्रमणले अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
ड्रोन आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय केन्द्रमा आगलागी भएको छ। कुवेतका अधिकारीहरुका अनुसार बुधबार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरुलाई रक्षा प्रणालीले सफल तुल्याएको भएपनि एउटा ड्रोन विमानस्थलको इन्धन भण्डारण डिपोमा खस्ता आगलागी भएको हो।
नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार ड्रोनले विमानस्थलको इन्धन ट्याङ्कीलाई निशाना बनाएको र भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन। कुवेती सेनाले आफ्नो एयर डिफेन्स सिस्टमले आकाशमै धेरै मिसाइल र ड्रोनहरू नष्ट गरेको दाबी गरेको छ।
शहरका विभिन्न भागमा सुनिएका ठूला विस्फोटका आवाजहरू यही प्रतिरोधात्मक कारबाहीका कारण भएको सेनाले स्पष्ट पारेको छ। कुवेत नेशनल गार्डले आफ्नो कार्यक्षेत्रभित्र ६ वटा ड्रोनहरूलाई खसालेको जानकारी दिएको छ भने रक्षा मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७ वटा ब्यालेस्टिक मिसाइल र १३ वटा ड्रोन पत्ता लागेका थिए।
मिसाइल खसाल्दा झरेका टुक्राहरूका कारण ७ वटा मुख्य प्रशारण लाइनमा क्षति पुग्दा केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो, जसलाई अहिले धेरैजसो मर्मत गरिसकिएको छ। यो घटना इरान र अमेरिका–इजरायल बीच बढ्दो तनावकै कारण भएको हो। गत महिना इरानमाथि भएको संयुक्त सैन्य हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली सम्पत्तिहरूलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ। अधिकारीहरूले यो आक्रमण कहाँबाट भएको हो भन्नेबारे आधिकारिक रूपमा भने खुलाएका छैनन्।