२०८२ चैत्र १२ गते , विहीबार

बेमौसमी वर्षा बन्यो इँटा उद्योगीका लागि ‘काल’, झापामा करोड भन्दा बढी इँटा नष्ट

sajilo news
पार्थ मण्डल
२०८२ चैत्र १२ गते , विहीबार
बेमौसमी वर्षा बन्यो इँटा उद्योगीका लागि ‘काल’, झापामा करोड भन्दा बढी इँटा नष्ट

झापा । पटक-पटकको बेमौसमी वर्षाले झापामा एक करोडभन्दा बढी काँचो इँटामा क्षति पुर्‍याएको छ। उद्योगलाई प्रतिगोटा काँचो इँटा उत्पादन गर्न ५ रुपैयाँसम्म खर्च लाग्ने गरेकोले जिल्लामा करोडौँ रुपैयाँ बराबरको क्षति भएको झापा इँटा उद्योग संघका सचिव विष्णु घिमिरेले जानकारी दिए। 

जिल्लामा २४ वटा इँटा उद्योगमा सञ्चालनमा रहेको छ। निरन्तरको हावाहुरी, असिनासहितको वर्षाले एउटा उद्योगमा कम्तीमा ३ लाखदेखि बढीमा १२ लाखसम्म काँचो इँटामा क्षति पुगेको सचिव घिमिरेले बताए। कचनकवलस्थित चण्डी इँटा उद्योगका सञ्चालक समेत रहेका घिमिरेले भने, ‘जमिनमा बनाइ राखिएको करिब ३ लाख इँटा वर्षाको पानीले नष्ट गरिदिएको  ।’ 

एउटा काँचो इँटा तयार गर्दासम्म एक रुपैयाँ डिजेलमा, दुई रुपैयाँ माटोमा, एक रुपैयाँ ज्यालामा र एक रुपैयाँ ओभरहेड गरी पाँच रुपैयाँसम्म खर्च हुन्छ। इँटालाई पकाउँदै गरेको चिम्नी भट्टामा पनि खर्च बढ्छ। ‘आगोको तापक्रमलाई पानीले घटाउँदा कोइलाको खपत बढेर जान्छ, जसले खर्च पनि बढाउँछ,’ उनले भने। 

सरकारले पुस मसान्तपछि मात्र इँटा पोल्न पाउने कानुनी नीति बनाएको छ। सरकारको यस्तो नीतिले समस्या झेलिरहेका उद्योगीलाई बेमौसमी वर्षाले पनि थप नोक्सान पुर्‍याउँदा एउटा उद्योगमा वार्षिक उत्पादनको ३० देखि ४० प्रतिशतसम्म उत्पादन घटेर जाने सम्भावना रहेको उनले बताए। 

बिमा कम्पनीहरूले अरू सबै उद्योग तथा कलकारखानाहरूको बिमा गर्छ। तर, इँटा उद्योगको बिमा गर्दैन। बिमा गर्न नपाउँदा इँटा उद्योगीहरूले सुरक्षित र भरपर्दो रूपमा व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

फागुन २८ गतेदेखि हालसम्म पटक पटक परिरहेको हावाहुरीसहितको वर्षाले हल्दिबारीका इँटा उद्योगहरूमा बढी क्षति पुर्‍याएको कोशी इँटा उद्योग संघका प्रदेश सचिव जर्नादन न्यौपानेले बताए। हल्दिबारीका प्रतीक इँटा उद्योगका सञ्चालक समेत रहेका न्यौपानेको उद्योग मात्रै करिब १२ लाख काँचो इँटामा क्षति पुगेको छ। 

हावाहुरीले मजदुर बस्ने क्वाटर घरदेखि कार्यालय भवनको टिनाहरू पनि उडाएर क्षति पुर्‍याएको पीडा सुनाउँदै सञ्चालक न्यौपानेले भने, ‘फागुन २८ गते साँझदेखि अहिलेसम्म काँचो इँटा बनाउन सकिरहेका छैनौं। तयारी अवस्थामा रहेको काँचो इँटा कामै नलाग्ने गरी पानीले बगाएको छ। लगातार घाम लागेको २/३ दिनपछि मात्र काँचो इँटा बनाउन सकिन्छ । यसले उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको छ।’  

इँटा उद्योगीको काल भनेकै बेमौसमी वर्षा हो । मजदुरहरूले भुईँमा काँचो इँटा बनाउनुपर्ने हुन्छ। त्यसलाई त्यही सुकाउनु पर्छ। सुकिसकेपछि मात्र त्यसलाई त्यहाँबाट उठाउन मिल्छ। ‘त्यही बेलामा आकाशे पानी परिदिन्छ र बनाइएको इँटा सबै नष्ट गरिदिन्छ,’ उनले थपे। 

कचनकवलस्थित दुई वटा चिम्नी भएको एसबीआई इँटा उद्योगमा करिब १८ लाख काँचो इँटामा क्षति पुगेको छ। उद्योगका सञ्चालक अजिम आलमले दुई ठाउँमा गरी यस पटक १८ लाख इँटामा क्षति पुगेको हो। यसले ठूलो नोक्सानी गरेको उनको भनाई छ। त्यस्तै कचनकवलस्थित प्रेमजी इँटा उद्योगमा करिब ५ लाख काँचो इँटा क्षति भएको छ। 

‘वर्षाले काँचो इँटामा ठूलो क्षति गर्‍यो, मौसम सफा नहुँदा अहिलेसम्म काँचो इँटा बनाउन पाइरहेका छैनौं,’ उद्योगका सञ्चालक नुर आलमले भने। 

सम्बन्धित समाचार