झापामा नयाँ खेल ‘पिकल बल’ भित्रियो, कस्तो हुन्छ यो खेल ?
खेलकुदको हब बन्दै गएको झापामा ‘पिकल बल’ नामको खेल भित्रिएको छ । अमेरिकाबाट विकास भएको यो खेल नेपालको काठमाडौँ, ललितपुर र पोखरामा नियमित सञ्चालनमा आए पनि पूर्वको झापामा पहिलोपटक यो खेल भित्रिएको छ । जिल्लामा खेल भित्रिएसँगै ‘पिकल बल’को प्रतियोगिताका पनि आयोजना गरिएको छ ।
अर्जुनधारा–६ को गामास्ता स्पोर्टस हबमा दुई दिनसम्म सञ्चालित प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल, वुमन्स सिंगल, वुमन्स डबल र मिक्स डबलका आधारमा खेलाडी सहभागी थिए । राउण्ड टेबल नेपाल र गामास्ता स्पोर्टस हबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको मेन्स डबलमा अन्सुल वंशल र विजय कार्कीको जोडी विजेता भयो भने रोहण कार्की र अनुप लामाको जोडी उपविजेता बन्यो । वुमन्स डबलमा दिव्या अग्रवाल र मनिषा ढकालको जोडी विजेता र ओसिन तामाड र सुमिति लामाको जोडी उपविजेता भयो ।
यस्तै, मेन्स सिङ्गलमा बिनोम ढकाल विजेता र अन्सुल वंशल उपविजेता रहे भने वुमन्स सिङ्गलमा मनिषा ढकाल विजेता र सुमिति लामा उपविजेता भए । मिक्स डबलमा अनुयोग राज ढकाल र सुमिति लामाको जोडी विजेता तथा ओसिन तामाड र बिनोम ढकालको जोडी उपविजेता भए ।
प्रतियोगितामा ४९ वटा खेल भएका थिए । खेल वेस्ट अफ ३ का आधारमा सञ्चालन भएको आयोजक राउण्ड टेबल नेपालका अध्यक्ष विकास अग्रवालले जानकारी दिए । प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगितामा ७० जना खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक अन्सुल वंशलले जानकारी दिए ।
के हो पिकल बल ?
पिकल बल एउटा रमाइलो र सजिलो खेल हो, जसले टेनिस, ब्याडमिन्टन र टेबल टेनिस को मिश्रण जस्तो अनुभव दिन्छ ।
यो खेल कस्तो हुन्छ ?
यो खेल ब्याडमिन्टन कोर्टजस्तै सानो कोर्टमा खेलिन्छ । यसको नेट टेनिसभन्दा अलिकति होचो हुन्छ । खेलाडीले र्याकेटजस्तो प्याडल र प्लास्टिकको हलुका छिद्र भएको बल प्रयोग गर्छन् । यो खेल एक्लै वा दुई–दुई जनाको टोलीमा पनि खेल्न सकिन्छ ।
खेलका नियमहरू
बल सर्भिस गर्दा तलबाट अण्डरह्याण्ड सर्भिस) हानिन्छ । सर्भिस गरेपछि बल दुई पटक जमिनमा ठोकिनुपर्छ । नेटनजिकको क्षेत्रलाई ‘किचन जोन’ भनिन्छ, त्यहाँ उभिएर सीधै भली हान्न पाइँदैन । अंक सर्भिस गर्ने टिमले मात्र पाउँछ । एक सेट खेल सकिन ११ अंक पाएको हुनुपर्छ । विजेता अंकमा दुईको फरक हुनुपर्ने नियम यसमा छ ।
सिक्न सजिलो र धेरै दौडधुप गर्नु नपर्ने भएको कारण यो खेल लोकप्रिय बन्दै गएको बिर्तामोडका व्यवसायी तथा खेल प्रेमी सन्तोष अग्रवाल बताउँछन् ।