गाजामा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
काठमाडौं । मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको आन्तरिक मामिला अधिकारीहरूले बताएका छन्।
स्थानीय स्रोतहरूकाअनुसार इजरायली ड्रोनले हमासद्वारा सञ्चालित आन्तरिक मामिला अधिकारीहरूको प्रहरी गाडीलाई लक्षित गरेको थियो। प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएअनुसार आक्रमणबाट वरपर रहेका अन्य धेरै मानिसहरु घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरूकाअनुसार आईतवार नै मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवरहा क्षेत्रमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोनले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो। शिविरमा रहेको अल–अवदा अस्पतालले उक्त आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूका छोराको मृत्यु भएको जनाएको छ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले आईतवार आफ्नो दैनिक अपडेटमा रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा गाजापट्टीका अस्पतालहरूमा पाँच जनाको शव र आठ जना घाइते आइपुगेका छन्। अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ भने १ हजार ७ सय ६२ जना घाइते भएका छन्। यससँगै अक्टोबर ७, २०२३ यता मृत्यु हुनेको कुल संख्या ७२ हजार २ सय ३९ र घाइते हुनेको संख्या १ लाख ७१ हजार ८ सय ६१ पुगेको छ।