२०८२ चैत्र १६ गते , सोमबार

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

sajilo news
रासस
२०८२ फाल्गुन २७ गते , बुधबार
इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धकाबिच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसको प्रभाव ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्म पुगेको छ । कतिपय स्थानमा इन्धनको राशनिङ सुरु भएको छ भने विद्यालयहरू समेत बन्द भएका छन् ।

युद्धको आर्थिक असर, विशेषगरी ऊर्जा आपूर्तिको अवस्थाबारे छलफल गर्न जी–७ देशका नेताहरू बुधबार भिडियो सम्मेलनमार्फत बैठक बस्ने तयारीमा छन् । यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावबारे निर्णय गर्ने सम्भावना रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले मङ्गलबार होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछ्याउन सक्ने क्षमता राख्ने इरानका जहाजमाथि प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा इरानी डुङ्गाहरू ध्वस्त पारिएको देखिएको बताइएको छ । अमेरिकाका अनुसार विश्वको झण्डै पाँचौँ भाग तेल ओसारपसार हुने यस जलमार्ग नजिकै १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै यदि जलडमरूमध्यमा सुरुङ राखिएको पुष्टि भए र त्यसलाई तुरुन्त हटाइएन भने इरानले ‘पहिले कहिल्यै नदेखिएको स्तरको सैन्य परिणाम’ भोग्नुपर्ने बताए ।

अमेरिकी निर्वाचन नजिकिँदै गर्दा बढ्दो तेल मूल्यले ट्रम्पमाथि राजनीतिक दबाब पनि बढाइरहेको छ । मङ्गलबार कच्चा तेलको मूल्य करिब पाँच प्रतिशत बढे पनि भण्डार सार्वजनिक गर्ने सम्भावनाको खबरपछि बुधबार केही घटेको छ ।

सम्बन्धित समाचार