२०८२ चैत्र १६ गते , सोमबार

मछिन्द्र बन्यो सातौँ झापा गोल्डकप च्याम्पियन

sajilo news
रासस
२०८२ फाल्गुन ४ गते , सोमबार
मछिन्द्र बन्यो सातौँ झापा गोल्डकप च्याम्पियन

बिर्तामोड । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो ।
उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप हो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । वेस्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, वेस्ट कोच मछिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मछिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।
प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोला प्रथाबाट  बिर्तामोडकी प्रीति मोक्तानले यामाहा कम्पनीको एक थान स्कुटर पाइन् ।
खेलको ३१ औँ मिनेटमा मछिन्द्रले अग्रता बनायो । मछिन्द्रका स्ट्राइकर प्रदीप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए । विपक्षी पोस्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोल भएको थियो ।
एपिएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मछिन्द्रले अर्को गोल पहिलो हाफको ४५ औँ मिनेटमा लगायो । देवेन्द्र तामाङको लामो प्रहारलाई मछिन्द्रका फ्रयाङक अनोहले गोल गर्न सफल भएका थिए ।
खेलको ८३ औँ मिनेटमा मछिन्द्रले अर्को गोल थप्यो । मछिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेन्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भए ।
पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपिएफले दोस्रो हाफमा मछिन्द्र्रमाथि दबाब दिएको थियो । खेलको ८२ औँ मिनेटमा एपिएफले एक गोल फर्कायो । विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई एपिएफका दीपेश धिमालले सुन्दर गोल गरे ।
खेलको ७६ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित भयो । डिफेन्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपिएफले खेलमा दबाबको सामना गरेको थियो ।
यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार