२०८३ जेष्ठ १० गते , आईतबार

भद्रपुरमा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता सुरु, राइनोल्याण्ड आसामको विजयी सुरुवात

sajilo news
झापा
२०८२ माघ २१ गते , बुधबार
भद्रपुरमा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता सुरु, राइनोल्याण्ड आसामको विजयी सुरुवात

झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
आज भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै आसामले १८।१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६।२ ओभरमा ५४ रनमा अलआउट भएपछि आसामले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

आसामका तर्फबाट मोहम्मद हबिबुल्लाले सर्वाधिक १९ रन बनाए भने काठमाडौँका तर्फबाट रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी, काठमाडौँका तर्फबाट सर्वाधिक १४ रन बनाए भने आसामका तर्फबाट प्राञ्जल भरालीले ४ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए । प्रतियोगिताको एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे। 

भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रलाई अघि बढाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मेची क्याम्पसको क्रिकेट मैदानलाई थप विकसित गर्न कोशी प्रदेश सरकारले लगानी गर्ने बताए।
संघका सचिव केदार महतले सञ्चालन र प्रतियोगिताका संयोजक तथा भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको समारोहमा विभिन्न झाँकीहरू पनि प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठ वटा टिमको सहभागिता रहेको छ । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अंकका आधारमा सेमिफाइनल खेल्ने टिमको टुङ्गो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख नगदसहित शील्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद तीन लाखसहित शील्ड प्राप्त गर्ने पोखरेलले बताए ।
अध्यक्ष पराजुलीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यो प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिए।

बिहीबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा भारतको दिल्लीले आजको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबले जीएचसीए काठमाडौँको सामना गर्नेछ ।

सम्बन्धित समाचार