सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षबिहीन
सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलन शिक्षकहरू सहभागी थिए।
बैठकपश्चात अध्यक्ष सुवेदीले पुन: छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलनसँगसँगै जाने बताए। यसैगरी विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारीले सरकारले वार्तामा बोलाएकाले आज मन्त्रालयमा छलफल गर्न आएको बताए। उनले सम्झौता यस अगाडि पनि गरेकाले सरकारसँग सम्झौता नहुने बताए। उनले विद्यालय शिक्षा विधेयक संसद्मा आएपछि मात्र के गर्ने सोच्ने उल्लेख गरे।
सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन्। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए। संसद् भवन परिसरमा मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’ गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्।