बिर्तामोडमा जुवा खेलिरहेका पाँच जना नगदसहित पक्राउ
बिर्तामोडमा जुवा खेलिरहेका पाँच जना नगदसहित पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ५ निवासी ३८ वर्षीय डाल कुमार राईको घरमा जुवा खेलाइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोलीले मङ्गलवार बेलुका छापा मारेको थियो । प्रहरीले घटनास्थलबाट तास र कौडा खेलिरहेका घरधनी राईसहित इलाम जिल्ला सूर्योदय नगरपालिका- १० का ३० वर्षीय दिल कुमार श्रेष्ठ, बिर्तामोड नगरपालिका- ५ का ३६ वर्षीय सन्जीप घतानि, सोही ठाउँका ४२ वर्षीय ससुहाङ चेम्जोङ र मेचीनगर नगरपालिका- २ का ४८ वर्षीय भूपू राईलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ७४ हजार ७३५ रुपैयाँ नगद, तीन बुक तास र १५ थान कौडा समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको डिएसपी पाठकले बताए ।